प्रेमेजुङ्ग

From Wikipedia

विषयसूची

[परिवर्तन्] परिचय

प्रेमेजुङ्ग इलाम जिल्लाको नयाँबजार गा.वि.स. अन्तरगतको एक गाउँ हो। यो गाउँले गाविसका वडा नं. २,३ र ५ ओगटेको छ। २०३८ सम्म यो गाउँ गोर्खेधाप गाउँपञ्चायतको २ नम्बर वडा मा पर्दथ्यो। जोगमाइ खोलाको दायाँपट्टि अवस्थित यस गाउँमा सुँगुरे खोला, सेतीखोला, होर्मे खोला, घट्टे खोला तथा छरछरे, ढाँडे, चिन्ते लगायतका खोल्साहरू रहेका छन्। बेंसीमा सुँगुरे बेंसी, चिउरे, जिम्बुबोटे, होर्मे तथा साँघुबेंसी यस गाउँका मुख्य धानखेत हुने ठाउँहरू हुन्।
इलाम जिल्लामा पहिले लाप्चा जातीको बसोबास रहेको इतिहासले देखाएको छ। इलाम, सिक्किम, दार्जिलिङ भेकका अधिकांश ठाउँका नामहरू लेप्चा भाषामा राखिएका छन्। प्रेमेजुङ पनि यसबाट अलग रहेको छैन। प्रेमेजुङ् नाम दुई शव्द पर्‌याङ+जोङ मिलेर बनेको विश्वास गरिन्छ। जसको अर्थ पर्‌याङ=निगालो र जोङ=घारी हुन्छ। पर्याप्त निगालो पाइने भएकाले यो ठाउँलाई निगालोघारी अर्थात् पर्‌याङजोङ भनिएको हो भन्ने विश्वास गरिन्छ। बोलचालको भाषामा अझैसम्म पनि प्रेमेजुङगलाई पर्मेजुङ भन्ने गरिन्छ।

[परिवर्तन्] हावापानी

यहाँको हावापानी एकदमै अनुकुल छ। जाडोमा धेरै जाडो तथा गर्मीमा धेरै गर्मी नहुने समशीतोष्ण हावापानी यहाँको विशेषता हो। तर उचाइ तथा अवस्थितिका कारण गाउँको पुछारमा अवस्थित सुँगुरे बेंसी र सिरानमा अवस्थित गुप्ती एवं गुराँसे बीच हावापानीमा केही अन्तर भने पाइन्छ।

[परिवर्तन्] बासिन्दा

अधिकांश हिन्द‍को बसोबास रहेको गाउँमा केही दर्जन बौद्धमार्गीहरूका समेत घरहरू छन्। यहाँ १ शिव मन्दिर, १ देवी मन्दिर, १ बौद्धगुम्बा तथा सयौं देवीथान र अरू देवताका थानहरू रहेका छन्। बाहुनमा पौडेल थरका बाहुनहरूको बाहुल्य रहेको छ। त्यसपछि ढुंगेल, भट्टराई, नेउपाने, दाहाल, खतिवडा, तिम्सिना, कोइराला, , आदि जातका बाहुनहरू आउँछन्। क्षत्रीमा पौडेल, थापा, राय, खँड्का, पाण्डे, भण्डारी थरका मानिसहरू यहाँ बसोबास गर्दछन्। क्षत्रीबाहुन पछि ठूलो संख्यामा गनिने जाति हो राई। यहाँ साङपाङ, चाम्लिङ, हाङ्‌खिम, यामदाङ, पुमाली, इसारा, ओक्छाली, बुखिम, सिवाङ, निवाङ, आदि जातका राइहरूको बसोबास रहेको छ। त्यसका अतिरिक्त थामी, पहरी, तामाङ, दियाली, सुनार, दर्जी, शिवा, अछामे, मगराँती, बिसुंखे, कामी आदि जातीका मानिस पनि प्रेमेजुङका बासिन्दा हुन्। सबै थरका हिन्द‍हरूले आफ्नो घरको आँगनमा तुलसाको मठ बनाएका पाइन्छ।

[परिवर्तन्] जनजीवन

प्रेमेजुङ्ग स्थित ढुंगा, माटो, बाँस र काठले बनेको एक घर
प्रेमेजुङ्ग स्थित ढुंगा, माटो, बाँस र काठले बनेको एक घर

सादा भन्दा सादा जनजीवन यहाँको विशेषता हो। निम्न तथा निम्नमध्यम वर्गीय आम्दानी हुने भएकाले यहाँका बासिन्दाहरू उतिसारो बिलासितापूर्ण जीवन विताउँदैनन्। यहाँका जनताहरू एकदमै मेहनती तथा परिश्रमी छन्। खेतीमा लागेका मानिसहरू अधिकांश समय खेतीपातीमा नै बिताउने गर्दछन्। साथसाथै गाइ तथा अन्य वस्तु पालन गर्ने हुनाले दिनमा १८ घन्टा भन्दा बढी समय काम गर्दछन्। अन्य पेसामा लागेका मानिसहरू पनि धेरथोर कृषि तथा पशुपालन गर्दछन्। खेतीपातीको प्रविधि परम्परागत रहने गर्दछ। केही शिक्षित युवाहरू गाउँको विद्यालय तथा केही सरकारी गैरसरकारी कार्यालयमा काम गर्दछन्। केही युवाहरू जागिरको सिलसिलामा जिल्ला सदरमुकाम तथा राजधानी सम्म पुगेका छन्। विदेशमा गै केही युवाहरूले धन तथा ज्ञान आर्जन गरिरहेका छन्।

यहाँका घरहरू सामान्यतया ढुंगा, माटो, काठ, बाँसले बनेका छन्। कसै-कसैले ढुंगा र माटोको साथमा सिमेन्टको पनि प्रयोग गर्ने गरेका छन्। पुराना घरहरूभनें ढुंगा र माटोले बनेका छन्। घरमा कमेरो तथा रातोमाटोले पोत्ने यहाँको पुरानो चलन हो जसमा हाल परिवर्तन आई चून र तल रातो माटोले पोत्ने गर्दछन्।

[परिवर्तन्] शैक्षिक अवस्था

गाउँमा एउटा सरकारी निम्न माध्यमिक विद्यालय रहेको छ जसमा १ देखि ८ कक्षासम्मको पढाइ हुन्छ। एक बाल विकास केन्द्र समेत सञ्चालनमा रहेको छ। निजी क्षेत्रको लगानीमा २ वटा प्राथमिक बोर्डिङ स्कूल हालसालै स्थापना भएका छन्। त्यसका अतिरिक्त विशेष शिक्षा कार्यक्रम अन्तरगत संचालित अनौपचारिक शिक्षाका कक्षाहरू द्वारा हाल गाउँको साक्षरता निकै बढेको छ। विद्यालय जाने उमेरका ९७ प्रतिशत विद्यार्थीहरू विद्यालय गएका छन्। माध्यमिक तथा उच्चशिक्षाका लागि गाउँ छोड्नु वा टाढाका विद्यालयहरूमा अध्ययन गर्नु यहाँको पुरानै नियति हो। नजीकमा नाम्सालिङ मा.वि. २ घण्टा, अमर कल्याण मा.वि. १.५ घण्टा, गोर्खे मा.वि. १.५ घण्टा, फिक्कल मा.वि. २ घण्टा, करफोक मा.वि. २.२५ घण्टा को पैदल दूरीमा रहेका छन्।


[परिवर्तन्] आर्थिक गतिविधि

खेतीपशुपालन यहाँका बासिन्दाको मुख्य पेसा हो। व्यापार, नोकरी र राजनीति तर्फ पनि विस्तारै यहाँका मानिसहरू आकर्षित हुँदै गैरहेका छन्। गाउँमा कुनै आर्थिक गतिविधि नदेखेका गाउँलेहरू पर्म तथा ज्यालामा काम गर्ने गर्दथे। तर ज्यालाको रकम पैसामा नभै बाली अथवा वस्तुको रूपमा भुक्तान गरिन्थ्यो। पछि बि.सं. १९९६ ताका गाउँको ग्राफाइट खानी खुलेपछि त्यसै खानीमा काम गर्ने ज्यामीहरूले सम्भवतः पहिलोपटक ज्याला स्वरूप पैसा प्राप्त गरेका थिए। इलाम सदरमुकाममा बि.सं. १०१२ चैत्र १२ गते पहिलो पटक मोटर जाँदा गोर्खे बजार बाट प्रेमेजुङ हुँदै माइबेनीको बाटो इलामसम्म गाडी पुगेको थियो तर प्रेमेजुङमा भनेका बेला गाडी पुग्ने बाटो चाँही त्यसको पचास बर्षपछि मात्र पुग्यो त्यो पनि जनताले आफ्नै पाखुराले खनेर। यातायातको सुविधा नभएतापनि मानिसले आफैं डोकोमा बोकेर अथवा घोडामा बोकाएर कृषिजन्य उत्पादनहरूलाई भारतीय सीमावर्ती बजार मानेभञ्ज्याङ तथा नेपाली बजार गोर्खेबजारसम्म पुर्‍याएर बिक्री वितरण गर्ने गरेका थिए। यहाँको मुख्य कृषि उत्पादनमा अदुवा, अलैंची, अम्लिसोको कुचो, मटरकोसा, अन्य तरकारी तथा फलफूलहरू आदिले भारतीय बजारमा निकै राम्रो ख्याती पाएका छन्। परम्परागत रूपमा गाइपालन गर्ने किसानहरूले बि.सं. २०४१ मा दुग्ध बिकास संस्थानले संकलन केन्द्र खोलेपछि भने व्यापारिक रूपमैं दुध उत्पादनमा लागेका हुन्। यो संकलन केन्द्रको स्थापनाले प्रेमेजुङको आर्थिक गतिविधिमा युगान्तकारी भूमिका खेलेको थियो। त्यसबेलादेखि नै कृषि विकास ब्याङ्कले गाइपालनमा ऋणको व्यवस्था गर्ने, कृषकहरूले पनि भारतको पोख्रेबुङ लगायतका ठाउँबाट जर्सी, होलेस्टेन आदि जातका दुधालु गाई ल्याएर पाल्ने क्रमको विकास भयो। गोर्खे बजारको चहल पहल हुँदा प्रेमेजुङको मुख्य बजार गोर्खेबजार नै थियो। मानेभञ्ज्याङ् मार्फत दार्जिलिङ सित सीधा सम्पर्क गराउने गोर्खे बजार एक ताका इलाम मात्र नभै धनकुटा, भोजपुर, तेह्रथुम, पाँचथर आदि क्षेत्रकै प्रमुख नाकाको रूपमा रहेको थियो। झापाबाट फिक्कल हुँदै इलाम जाने मेची राजमार्गको सञ्चालन पश्चात् फिक्कलबजार प्रमुख व्यापारिक केन्द्रको रूपमा उदायो जसले गर्दा गोर्खेबजार सुक्न थाल्यो। हाल फिक्कल बजार प्रेमेजुङ्को नजीकैको बजारको रूपमा रहेको छ। अन्य बजारमा नयाँबजार तथा भारतका मानेभञ्ज्याङ, सुखियापोखरी, दार्जिलिङ सम्मका बजारमा यहाँका मानिसहरू हाट भर्न जाने र आफ्ना उत्पादन हरू बिक्री गर्न पुग्छन्। गाउँमा बुधबार हाट लाग्ने गर्दछ त्यसका अतिरिक्त तरकारी तथा दुग्ध एवं कृषिजन्य उत्पादनहरु खरिद गर्न घरघरमा नेपाली तथा भारतीय व्यापारीहरू पुग्ने गर्छन्।

[परिवर्तन्] वातावरण र वनस्पति

प्रेमेजुङ्ग जंगलैजंगलले ढाकेको गाउँ हो। यहाँ प्रायजसो मानिसका आफ्नै निजी बन रहेका छन। यहाँ उत्तिस, मलातो, चिलाउने, सउर, मौवा, कटुस, सिरीष, फलेदो, जस्ता रूखहरू र बाँस, खन्यू, कोइरालो,दूधिलो, बडहर अम्लिसो, खरूकी, सालिमो आदि घाँसहरू भकिमिलो, अम्बक, सुन्तला, आरू आदि फलफूलहरू पाइन्छन्। घाँस दाउरा तथा काठपातका लागि यहाँका मानिसहरू बाहिर जानु परेको छैन। निजीवनका अतिरिक्त खरवनी, लगायतका केही रानीवन अर्थात् पर्ती वनहरू पनि रहेका छन्।

[परिवर्तन्] थप जानकारीका लागि हेर्नुहोस्

[परिवर्तन्] स्रोत

  • Lepchas of Nepal- Jeofrey, Shanti, Yuddha- 2003
  • इलाम दर्पण- रण बहादुर कार्की २०५९
  • अन्य विभिन्न पत्रपत्रिका तथा स्थानीय बासिन्दाहरू द्वारा प्राप्त जानकारीहरू।